भारतीय स्टेट बैंक (एस.बी.आई.) को अन्तर्राष्ट्रिय बैंकिङ्ग समूह–२ को मुख्य महाप्रबन्धकको पदमा कार्यरत श्री मुनीष कुमार चान्दना ले मिति २०८३ श्रावण २७ गते देखि नेपाल एसबिआई बैंक लिमिटेडको संचालक समितिमा भारतीय स्टेट बैंकलाई प्रतिनिधित्व गर्नु भएको छ र वँहा सोही मितिमा संचालक समितिको अध्यक्ष चुनिनुभएकोे छ । वहाँले सन् २००० मा भारतीय स्टेट बैंकमा परिक्षणकालीन अधिकृतको रूपमा आफ्नो सेवा सुरु गर्नु भएको थियो र हालको जिम्मेवारी जुन २०२६ देखी सम्हाल्नु भएको हो ।
२६ वर्षभन्दा बढीको विविध बैंकिङ्ग अनुभव हासिल गर्नुभएको वहाँले हाल एस.बी.आई.को पूर्वी तथा दक्षिण एसिया, सिंगापुर, अष्टे्रलियाको अन्तर्राष्ट्रिय बैंकिङ्ग संचालन र नेपाल एसबिआई बैंक लगायतको भारतीय स्टेट बैंकको प्रमुख विदेशी सहायक बैंकहरु लगायतको रणनीतिक नेतृत्व प्रदान गर्नु हुन्छ ।
वहाँले आफनो बैंकिङ्ग करियरमा कर्पोरेट तथा संस्थागत बैंकिङ्ग, रिटेल बैंकिङ्ग, व्यापार वित्त र अन्तर्राष्ट्रिय बैंकिङ्ग लगायतका विभिन्न क्षेत्रहरुको जिम्मेवारी सम्हाल्नुका साथै महत्वपूर्ण कार्यालयहरुको नेतृत्व गर्दै एस.बी.आई. सिकागोमा उपाध्यक्षका रुपमा विदेशमा समेत कार्यानुभव हासिल गर्नुभएको छ । रणनीतिक योजना निर्माण, व्यवसाय रुपान्तरण, संचालन उत्कृष्टता, कर्पोरेट ग्राहक सम्बन्ध व्यवस्थापन, नियामकीय अनुपालना तथा जोखिम व्यवस्थापन लगायतका क्षेत्रमा वहाँको विशेषज्ञता रहेको छ ।



